• 5:23 pm

राष्ट्रपति भण्डारी आज बंगलादेश जाँदै

प्रकाशित मिति

२०७७ चैत्र ९ गते, सोमबार ०६:१८

काठमडौं:  राष्ट्रपति विद्यादेवी भण्डारीले आज सोमबार छिमेकी मित्रराष्ट्र बङ्गलादेशको राजकीय भ्रमणमा जान लागेकी छिन् । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा उनले दुई दिवसीय भ्रमणमा जान लागेकी हुन् ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिवलगायत वरिष्ठ अधिकारी तथा सम्बन्धित मन्त्रालयका मन्त्री सहभागी हुने छन् । बङ्गलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बङ्गलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारीको भ्रमण हुन लागेको हो ।

भ्रमणको अवसरमा राष्ट्रपतिले ‘नेपाल र बङ्गलादेशको सम्बन्ध र बङ्गलबन्धुको जन्म शताब्दी’ को बारेमा सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आफ्ना समकक्षीसँग बङ्गला भवनमा भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै आफ्ना समकक्षीले आयोजना गर्ने स्टेट ब्याक्वेटमा सहभागी हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी भ्रमणका अवसरमा सावरस्थित राष्ट्रिय शहीद स्मारक र धनमण्डीमा रहेको बङ्गलबन्धुको स्मृति सङ्ग्रहालयको अवलोकन गर्ने छन् । नेपाली प्रतिनिधिमण्डलमा सहभागी सांस्कृतिक टोलीले ढाकामा प्रस्तुत गर्ने शताब्दी समारोह कार्यक्रमको अवलोकन पनि गर्ने छिन् । राष्ट्रपतिको सम्मानमा नेपाली दूतावासमा आयोजना हुने दिवा भोजमा त्यहाँ रहेका नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी चैत १० गते स्वदेश फर्कने छिन् ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० को न्यारो बडी ए ३२० चार्टर्ड जहाजमार्फत बङ्गलादेश जाने छन् । उडान नं आर ए ००१ जहाजमार्फत राष्ट्रपति सार्क मुलुक बङ्गलादेश प्रस्थान गर्ने उडान तालिका रहेको प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिईन् । काठमाडौं बङ्गलादेश उडान अनुमानित एक घण्टा १० मिनेटको हुनेछ ।

चार्टर्ड उडानको जहाजमा ‘रिफ्युलिङ एण्ड स्याम्पल टेष्टिङ’ उडान हुने दिन सोमबार बिहान छ बजेर ३० मिनेटमा सकिने प्रवक्ता श्रेष्ठले जानकारी दिए। यसअघि पनि राष्ट्र प्रमुख तथा सरकार प्रमुखले राजकीय भ्रमणका सन्दर्भमा निगमको जहाज प्रयोग गर्दै आएकी छिन् ।

 

समझदारीपत्रमा हस्ताक्षर हुने
राष्ट्रपति भण्डारीको बंगलादेशको भ्रमणका क्रममा दुई देशबीच विभिन्न समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।
भ्रमणको क्रममा कम्तीमा चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौता हस्ताक्षर हुने भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । सो सम्झौता अनुसार बंगलादेश रोहनपुर–सिंगावाद रेलवे रुट नेपाललाई पारवहन प्रयोजनको लागि प्रयोग गर्न दिन सहमत भएको छ । बंगलादेशले नेपाललाई लामो समयदेखि पारवहन सुविधा प्रदान गर्दै आएको छ ।

त्यस्तै नेपाल र बंगलादेशबीचमा स्यानिटरी र साइटो स्यानेटरीसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुने भएको छ । यससम्बन्धी सम्झौताका लागि मन्त्रिपरिषदको वैठकले उद्योग, वाणिज्य र आपूर्ती मन्त्रालयका सचिवलाई अख्तियारी दिएको छ ।

राष्ट्रपतिकै भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच पर्यटन प्रवर्द्धनसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुने कार्यक्रम छ । नेपाल र बंगलादेशबीच पर्यटनको प्रचुर सम्भावना भएपनि अहिलेसम्म खासै उपलब्धी हुन सकेको छैन । अब सम्झौतापछि दुई देशबीच पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गरिने छ ।

नेपाल सरकार र बंगलादेश सरकारबीच सांस्कृतिक कार्यक्रम आदान प्रदान कार्यक्रम सम्बन्धी सहमति पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । यी सम्झौताबाहेक नेपाल र बंगलादेशबीचमा हुने उर्जा सहकार्यको विषय, व्यापार प्रवद्र्धनलगायतका विषयमा छलफल परराष्ट्र मन्त्रालयको भनाइ छ ।

प्रतिकृया