• 11:54 am

आफू निकट नेतालाई पौडेलले निवासमा बोलाए

प्रकाशित मिति

२०७७ चैत्र ८ गते, आईतवार ०३:३९

काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय शीर्षस्थ नेतालाई बोहोराटारस्थित निवासमा बोलाएका छन् ।

महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता अर्जुननरसिंह केसी, रामशरण महत, डा. मिनेन्द्र रिजाल लगायतका नेतालाई पौडेलले बोलाएका बुझिएको छ ।

पार्टीको महाधिवेशनको गतिविधि र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुने नेता केसीले जानकारी दिए । पार्टी सभापति शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको विकल्प दिन अग्रसरता नलिएको भन्दै पौडेल पक्ष असन्तुष्ट रहँदैआएको छ ।

सभापति देउवाले भने अझै परिस्थिति परिपक्व नबनेको बताउँदै आएका छन् । एमालेमा ओली र माधव नेपालको लफडा, माओवादी केन्द्र र जसपाको संस्थागत निर्णयपछि मात्र ओलीको विकल्पबारे प्रष्ट चित्र देखिने देउवाको भनाइ छ । तर पौडेलले यसका लागि पनि काँग्रेसले अग्रसरता दिनुपर्ने बताइरहेका छन् ।

पौडेल पक्षको भेलाले ओलीको विकल्पमा काँग्रेस अग्रसर हुनुपर्ने निष्कर्ष निकालेको थियो । सोहीअनुसार पदाधिकारी बैठकमा काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन बनाउनुपर्नेमा एक मत बनेको थियो ।

प्रतिकृया