कस्तो विडम्बना १ संविधानको रक्षा हामीले पो गर्नुपरेको छ:जसपा नेता राजकिशोर यादव
प्रकाशित मिति
२०७७ चैत्र ६ गते, शुक्रबार ०२:५१

काठमाडौ: जनता समाजवादी पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले वर्तमान संविधानलाई विश्वकै उत्कृष्ट भनेर दावी गर्नेहरुले नै अहिले त्यो संविधान च्यातेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा दलीय आधारमा सम्बोधन गर्दै उनले आफूहरुले वर्तमान संविधानलाई अन्तिम रुप दिँदै गर्दा आफूहरुले केही विषयमा असहमति राखेर विरोध जनाएको स्मरण गराए । त्यतिबेला आफूहरुलाई थिचोमिचो गरेर संविधान जारी गर्ने तथा संविधान जारी भइसकेपछि ‘विश्वकै उत्कृष्ट संविधान’ भनेर दावी गर्नेहरुले नै अहिले संविधानलाई च्यातेको उनको भनाइ थियो ।
उनले भने, ‘कस्तो विडम्बना १ अहिले हामीले पो यो संविधानको रक्षा गर्नु परिरहेको छ १’ आफ्नो पार्टीको आन्तरिक झगडा व्यवस्थापन गर्न नसकेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको भन्दै उनले सबैभन्दा पहिला आफ्नो पार्टीले नै प्रतिनिधिसभा विघटन ‘असंवैधानिक’ भनेर त्यसका विरुद्ध तत् क्षण निर्णय गरेर आन्दोलनमा गएको स्मरण गराए ।
‘सर्वोच्च अदालतको विवेकपूर्ण निर्णयले हामी यहाँ उपस्थित हुन पाएका छौं,’ उनले भने, ‘सर्वोच्च अदालतलाई साधुवाद भन्न चाहन्छु ।’ राजनीतिक व्यवस्थाका लागि लडेर अधिकतम उपलब्धि हासिल गरेपनि विधि, पद्धति, लोकतान्त्रिक अभ्यास एकदम कमजोर भएर गएको उनले बताए । ‘सिंहदरवारमा आगो लाग्दा तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिए,’ उनले भने, ‘भ्रष्टाचारका थोरै कुरा बाहिर आउँदा मन्त्रीहरुले राजीनामा दिएको उदाहरण छ ।’ अहिलेको सन्दर्भमा त्यस प्रकारको नैतिकता नदेखिएको उनको भनाइ थियो ।
उनले एक अर्काविरुद्ध प्रयोग गरेका शब्दको चयन हेर्दा हामी कता गइरहेका छौं भनेर आत्मसमीक्षा गर्नुपर्ने बेला भएको पनि उल्लेख गरे । सत्ता नै सबैथोक हो भन्ने मनोविज्ञान घातक देखिएको भन्दै उनले मूल्य–मान्यताको जसरी ह्रास भइरहेको छ, देशलाई हामीले जहाँ लैजान खोजेका छौं, त्यसमा नकारात्मक असर गर्छ ।
प्रतिकृया