एउटै जिल्लामा ५० मेगावाटका ४ आयोजना निर्माणाधीन
प्रकाशित मिति
२०७७ फाल्गुन १८ गते, मंगलवार ०५:५७
काठमाडौं : गण्डकी प्रदेशको पर्वत जिल्लामा करिब ५० मेगावाटका जलविद्युत आयोजना एकैसाथ निर्माण भइरहेका छन् । जिल्लाको मोदी बेसिन र सेती खोलामा गरी ४ जलविद्युत आयोजना निर्माण भइरहका हुन् ।
मोदी खोलामा मात्रै ४६।६ मेगावाटका ३ जलविद्युत आयोजना निर्माणाधीन छन् । २० मेगावाटको तल्लो मोदी, १५।१ मेगावाटको मध्यमोदी र साढे १० मेगावाटको तल्लो मोदी–२ आयोजना निर्माणाधीन छन् ।
तल्लो मोदी आयोजना मोदी इनर्जी कम्पनीले निर्माण गरिरहेको छ । आयोजना निर्माणको अन्तिम चरणमा रहेको यो आयोजना चालू आर्थिक वर्षभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना छ।
यो आयोजना यसअघि नै सञ्चालनमा आइसक्नु पर्ने हो जना सञ्चालनमा आउँदा वार्षिक ११७।९९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।
सुरुमा ३ अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा सुरुङको समस्या तथा ढिलाईलगायत कारणले आयोजनाको लागत बढेको छ ।
यस्तै, यही नदी बेसिनमा चौधरी ग्रुपको लगानीमा मध्यमोदी आयोजना निर्माण भइरहेको छ । चौधरी ग्रुपले मध्यमोदी हाइड्रो पावर कम्पनीमार्फत यो आयोजना निर्माण गरिरहेको हो । यो आयोजना पनि निर्माणको अन्तिम चरणमा पुगेको छ ।
२०७० असार ७ गते विद्युत विकास विभागबाट उत्पादन अनुमति पाएको आयोजना सम्पन्न गर्न करिब २ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान छ । आयोजनाबाट २०७५ मंसिरमा नै विद्युत उत्पादन गर्ने तालिका भएपनि भूकम्प नाकाबन्दीलगायतका कारणले उत्पादन अवधि थप भएको छ । कुनै अवरोध नभए यो आयोजना चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले तल्लो मोदी–२ निर्माण गरिरहेको छ । पहिले १० मेगावाटको तल्लो मोदी–१ आयोजनाको सफल निर्माण गरी सञ्चालनमा ल्याएको कम्पनीले यो आयोजना निर्माण गरिरहेको हो ।
यो तल्लो मोदी–१ को क्यासकेड आयोजना हो । कम्पनीले यो आयोजना अघि बढाउन २०७४ सालमा उत्पादन अनुमतिपत्र लिएको थियो । मोदी बेसिनका ३ वटै आयोजनाको विद्युत मोदी सबस्टेसनमा जोडिनेछ ।
यसैगरी, साढे ३ मेगावाटको सेती खोला पनि पर्वतमा निर्माणाधीन छ । यो आयोजना पाइयू खोला हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको हो । कम्पनीले आयोजना निर्माण गर्न २०७४ सालमा विकागबाट उत्पादन अनुमतिपत्र लिएको थियो । ४।७३ मेगावाटको भुरुन्दी खोला स्मल जलविद्युत आयोजना भने अध्ययनरत छ । यो आयोजना अमराबती हाइड्रोपावर कम्पनीले अध्ययन गरिरहेको हो ।
मोदी बेसिनमा यसअघि निर्माण सम्पन्न भएका २५ मेगावाटका ३ जलविद्युत आयोजना सञ्चालनमा छन् । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको १४।८ मेगावाटको मोदी खोला, १० मेगावाटको तल्लो मोदी–१ र १ मेगावाटको पातीखोेलाले विद्युत उत्पादन गरिरहेका छन् ।
प्रतिकृया