जागिर बाट भन्दा तरकारी खेतीबाटै दोब्बर आम्दानी
प्रकाशित मिति
२०७७ फाल्गुन १८ गते, मंगलवार ०४:२०

बेनी: बेनी नगरपालिका–६,जरबुटाका नारायण जिसी शनिबार बिहान रात्री ड्युटी सकेर सिधै बारीमा पुग्नु उनको दैनिकी बनेको छ। नेपाल बैंक बेनी शाखामा सुरक्षा गार्डको रूपमा कार्यरत ३६ वर्षीय जिसी घर नजिकै बारीमा टनेलभित्र लटरम्म फलेको गोलभेंडा टिप्न थाले । दिउँसो जागिरमा जाँदा बाहेक बिहान बेलुकीको समय तरकारी बारीमै बिताउँछन् ।
जागिरबाहेक बचेको समयलाई सदुपयोग गदैं आधा दशक अगाडीदेखि सुरू गरेको तरकारी र पशुपालनले बिस्तारै व्यावसायिक रूप लिएपछि जिसी दंग छन् । बाँझो जग्गामा प्रांगरिक मल र जैविक विषादीको प्रयोग गरी सुरू गरेको तरकारी खेतीबाट मनग्य आम्दानी गरेका छन् ।
तरकारी खेतीका लागि पाँचवटा हाइटेक प्रविधिको टनेलभित्र उत्पादन हुने तरकारीबाट मात्रै उनले बार्षिक साढे ३ लाखसम्म आम्दानी गर्ने गरेको बताए ।
२०७२ सालमा खानेपानीको समेत राम्रो सुविधा नभएको पाखाको बस्तीमा बेमौसमी तरकारी खेती गर्दा जिसीलाई धेरैले पत्याएनन् । अहिले भिरालो जमिनमा बेमौसमी तरकारी खेती भएपछि आश्चर्य चकित भएका छन्। सीप र प्रविधिको जानकारी लिएर ब्यवसाय पनि सुरु गरेको जिसी बताउँछन् । उनले उन्नत जातका टमाटर, काँक्रो, घिरौंला, केराउ, बोडी, सिमी, लगायत तरकारीको बीउ समेत बिक्री गर्ने गरेका छन् ।
हरेक वर्ष खर्च कटाएर पशुपालन र कृषिबाट ५ लाखसम्म आम्दानी गर्ने जिसीले कृषि पेशालाई व्यावसायिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिन्छन् । उनले खोलाबाट मोटरको प्रयोग गरी पानी ल्याउन पोखरीसमेत बनाएका छन् । ‘जागिरको कमाइले मात्रै पुग्दैन्,सामान्य कृषि ज्ञान भएकाले पनि प्लास्टिक घरभित्र तरकारी फलाउन सकिन्छ’, जिसीले भने ।
बजारमा बेमौसमी उत्पादनले राम्रो मूल्य पाउने र एक किलो तरकारीमा आधाभन्दा बढी नाफा हुने हुँदा बेमौसमी उत्पादनलाई महत्व दिएको उनले बताए । तरकारी र दूध बिक्रीसँगै उनले माछापालन सुरू गरेका छन् ।
बजारको पनि समस्या छैन । ८० देखि एक सय रुपैयाँ किलोमा घरबाटै टमाटर बिक्री भइरहेको छ । एउटै बोटमा ६ केजीभन्दा बढी फल्ने गरेको बताए । हाइटेक प्रविधिमा जनशक्ति कम लाग्ने भएकाले उनलाई परिवारका सदस्यले मात्रै सघाइरहेका छन् । थोपा सिंचाईको नमूना प्रयोग गरेका जिसीले कृषिमा सीप आदान–प्रदानको वातावरण नभएपनि आफू युवाहरुलाई सक्ने सहयोग गरेको बताए ।
प्रतिकृया