दक्षिण सुडानमा सशस्त्रको फर्म्ड पुलिस युनिट सर्वोकृष्ट
प्रकाशित मिति
२०७७ फाल्गुन १८ गते, मंगलवार ०६:२८

काठमाडौं :संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिणी सुडानको जुवामा खटिएका विभिन्न देशका सुरक्षाकर्मीमध्ये नेपालको सशस्त्र प्रहरी बल सर्वोत्कृष्ट ठहरिएको छ । शसस्त्र प्रहरी बलको फर्म्ड पुलिस युनिट एफपियु–१० सर्वोकृष्ट ठहरिएको हो । अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्धारा एलिन पिकेरिङ्गको नेतृत्वको चार सदस्यीय कार्य सम्पादन मूल्याङ्कन समितिले त्यहाँ खटिएका ६ युनिटमध्ये राजधानी जुवामा तैनाथ ‘नेपाल (एफपियु–१’) लाई सर्वोकृष्ट घोषणा गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
समितिले तयार गरेको मूल्याङ्कन प्रतिवेदनमा सशस्त्र प्रहरीले शतप्रतिशत नतिजा ल्याएर सर्वोत्कृष्ट भएको कमाण्डिङ अफिसर सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी कुमार न्यौपानेले बताए । मिसनमा तैनाथ एफपियु बीचमा विभिन्न विधामा मूल्याङ्कन गरी उत्कृष्टता छनौट गरिन्छ । आठ विधामा युनिटहरूको बीचमा आन्तरिक प्रतिस्पर्धामा हुन्छ । हरेक विधामा चार अंकका दरले ३२ पूर्णाङ्क छुट्याइन्छ । १८ फेब्रुअरीमा लिइएको परीक्षामा सशस्त्र प्रहरीले ३२ अंक ल्याउन सफल भएको छ ।
सशस्त्र प्रहरीका एसएसपी कुमार न्यौपानेले नेतृत्व गरेको सो युनिटमा डिपुटी कमाण्डिङ अफिसर डिएसपी शिवप्रसाद गैहे, चिफ लजिष्टिक अफिसरमा डिएसपी रामजंग पाण्डे र चिफ अप्रेशन अफिसरमा डिएसपी अरुणकुमार शर्मा छन् । युनिटमा ३४ जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित १८० सशस्त्र प्रहरी अधिकृत तथा जवानहरु कार्यरत छन् । दक्षिण सुडानमा नेपालका दुईवटा, रुवन्डाको तीनवटा र घानाको एक गरी जम्मा ६ वटा एफपियु परिचालित छन् ।
प्रतिकृया