प्रधानमन्त्री ओलीले राजीनामा दिनु हुन्न: मन्त्री श्रेष्ठ
प्रकाशित मिति
२०७७ फाल्गुन १२ गते, बुधबार ०४:२२

भक्तपुरः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् । प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद सीटीइभीटीको ३३ र्औ वार्षिकउत्सव समारोहलाई आज सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीले कुनैपनि हालतमा राजीनामा दिन नहुने बताए ।
संसद सुचारु भएपछि प्रकृयामा जाने र सोही आधारमा प्रधानमन्त्रीले फेस गर्ने उनको भनाइ छ । उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्नेहरुलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिए ।
अदालतले गरेको निर्णयलाई सरकारले सम्मान गर्ने तर यो निर्णयले झन् विवाद बढाएको मन्त्री श्रेष्ठले बताए। सबै भन्दा ठुलो अदालत जनता भएकाले जनताले नै अहिलेको संकटकालीन अवस्थाको मुल्याङकन गर्ने बताए । अदालतको फैसलाले राजनीतिक मैदान खुला भएको र आफूहरु मैदानमा उत्रिएको उनको भनाइ छ ।
उनले मुलुक राजनीतिक संकटतर्फ धकेलिएको संकेत गर्दै यसलाई रोक्ने काम ओली सरकारको भएको चर्चा बताए । यो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई साक्षी राखेर समस्या समाधान गर्नुहुन्छ भन्दै उनले अबपनि आगामी निर्वाचनसम्म प्रम ओलीको विकल्प नभएको स्पष्ट पारे।
सिटिइभीटीले गरेका कामको प्रशंसा गर्दै संस्थाको अध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले प्राविधिक शिक्षालाई पहिलो प्राथमिकातामा राखेर अघि बढ्ने बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झा, सिटिइभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, शिक्षा सचिव रामप्रसाद थपलिया, सदस्य सचिव पुष्प रमण वाग्ले लगायतले प्राबिधिक शिक्षाको महत्वबारे चर्चा गरे ।
प्रतिकृया