खुमलटारमा प्रचण्डले माधव नेपाललाई लड्डु खुवाएपछि
प्रकाशित मिति
२०७७ फाल्गुन ११ गते, मंगलवार ०९:०४

काठमाडौं :आज साँझ सर्वोच्च अदालतले संसदको पुनस्थापना गर्ने फैसला सुनाएपछि नेकपाको प्रचण्ड र माधव समूहमा विशेष खुशियाली छाएको छ । त्यसको एउटा रन्को साँझ प्रचण्ड निवास खुमलटारमा देखिएको छ । प्रचण्ड निवास खुमलटारमा दाहाल नेपाल खेमाका नेता कार्यकर्ताहरु जम्मा भएका थिए । उनीहरु एक आपासमा बधाई साटासाट गर्र्दै थिए । यत्तिकैमा एकजना पूर्व माओवादी नेता त्यहाँ भित्रिए र प्रचण्डलाई लड्डु खुवाए ।
त्यसपछि अर्को लड्डु प्रचण्डले लिए र सो खेमाका अर्का नेता माधव नेपाललाई खुवाए । यो दृश्य बडो आकर्षक थियो । त्यतिबेला त्यहाँ उपस्थित भएका सयौँ नेता कार्यकर्ताले बेजोडका साथ ताली बजाएका थिए । यही प्याकेट फेरि माधव नेपालले लिए अनि फोटोका लागि संकेत गर्दै प्रचण्डलाई खुवाए । यी दुवै दृश्य रमाइला नै थिए । यी दृश्यहरुको फोटो खिच्नेहरु रमाएको देख्दा अझै रमाइलो लाग्दथ्यो ।
त्यसपछि लड्डुका अरु प्याकेट पनि भित्रिए र एकले अर्कोलाई खुवाउन थाले । त्यतिबेला भने प्रचण्ड निवास पार्टी कार्यालय जस्ते बन्न पुग्यो । कतिले होलीमा जस्तै आपसमा अविर दल्दै थिए भने केहीले लड्डु खुवाइरहेका देखिन्थे । यसैबीच निवास बाहिर नाराबाजी शुरु भयो दाहाल नेपाल जिन्दावाद, ओली मुर्दावाद । नाराबाजी भने त्यहाँ खटिएका प्रचण्डका सुरक्षाकर्मीहरुले नगर्न आग्रह गरे । पछि घरमा नाराबाजी नगरौ भनेर प्रचण्डले पनि भनेपछि रोकियो ।
तर सर्वोच्चको आजको फैसलापछि त्यहाँ शुरु भएको खुशीको माहौल भने सामान्य थिएन । यो खबर पछि उता बालुवाटारमा शुरु भएको प्रधानमन्त्री केपी ओलीको बर्थडेको खुशियाली अकस्मात बन्द भएको थियो भने यता अबिरमा चम्किदै लड्डुमा गम्किएको थियो ।
प्रतिकृया