• १६:५२ २०८० चैत्र १६ गते
  • 4:52 pm

श्रमका महिलाहरु समाजको हेपाईमा

प्रकाशित मिति

२०७७ फाल्गुन ११ गते, मंगलवार १२:१५

maiti nepal program

काठमाडौँ । मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिकहरु सङ्ठित हुने क्रम सोमबार सुरु भएको छ । विदेशमा गएर गरेको श्रमको इज्जत, पैसा पनि राम्रो कमाइने तर स्वदेशमा श्रमका कारण समाजको हेपाईमा र चौतर्फी शोषणमा परेका छन् । मनोरञ्जनको क्षेत्रमा कार्यरत महिला श्रमिकले उक्त स्थितिबाट गुज्रनुपरेको छ ।

नेपालमा रात्रीकालिन व्यवसाय सहरी क्षेत्रमा पर्याप्त फष्टाउने क्रममा छन् । त्यहाँ कार्यरत श्रमिकले थोरै तलब, नियुक्तीपत्र नपाउने, विदाको व्यवस्था नभएको, तलब पनि समयमा नपाउने र व्यवसाय सञ्चालन गर्नेबाट शारीरिक मानसिक, आर्थिक यौनिक शोषण भोग्नुपर्ने समस्या समाधानका लागि श्रमिकहरुले प्रादेशिक र राष्ट्रिय सम्मेलनको आयोजना गरेर सङ्गठित भएको मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकको राष्ट्रिय सञ्जालका अध्यक्ष निरु श्रेष्ठले बताए ।

यस क्षेत्रमा काम गर्ने श्रमिक पनि यहि देशका नागरिक हुन् । सार्वभौम राष्ट्रका नागरिकले पाउने सबै हक अधिकारका उनीहरु पनि हकदार हुन् भन्ने प्रत्याभुति गराउन सङ्गठित भएर अगाडि बढ्न विश्वास नेपालले सोमवार राष्ट्रिय भेलाको आयोजना गरेको हो ।

मसाज पार्लर,पव बारलगायतका रात्रीकालिन व्यवसायमा कार्यरत श्रमिकको हक–अधिकारका लागि विश्वास नेपालले काम गर्दै आएको छ ।

यस्तो छ घोषणापत्र
घोषणापत्रमा यस क्षेत्रमा काम गर्ने श्रमिकको न्युनतम तलब, साप्ताहिक बिदा, सम्झौतापत्र वा नियुक्तीपत्रबारे सम्वन्धीत निकायबाट अनुगमन हुनुपर्ने, पेशालाई मर्यादित बनाउनुपर्ने, श्रमिकको तथ्याङ्क राख्ने र यस पेशालाई हेर्ने, दृष्टिकोण बदल्ने वातावरण सृजनाका लागि माग गरिएको छ ।

त्यसैगरी यस क्षेत्रका अधिकाँश श्रमिक विशेष गरी महिला र उनका सन्तान जन्मदर्ता, नागरिकताको समस्यामा रहेकोले सहयोगको सुनिश्चता हुुनुपर्ने, यस क्षेत्रमा अझै पनि बालश्रम विद्यमान रहेकोले जोखिममा रहेका बालबालिकाको परिवारलाई आय आर्जजनमा सहयोग परामर्श प्रदान गर्नुपर्नेलगायत बुँदाहरु सम्मेलनले पारित गरेको छ ।

विश्वास नेपालका अध्यक्ष तारा भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा माइती नेपालका संस्थापक अनुराधा कोइरालाले यस क्षेत्रलाई विर्सेको वर्गका रुपमा चित्रित गर्दै श्रम गर्नेलाई सम्मानको वातावरण बन्नुपर्नेमा जोड दिए ।
स्वदेशमै श्रम गरी खानेलाई सम्मान गर्न जाने यस क्षेत्रका श्रमिक शोषणमा पर्ने सम्भावना कम हुने बताए ।

समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले यस क्षेत्रमा काम गर्ने श्रमिक वर्गको मागको सम्वोधनका लागि सम्वन्धति निकायको ध्यानाकर्षण हुने गरी आयोग काम गर्न तयार रहेको प्रतिवद्धता जनाए ।
उनले जागिरकै खोजीमा जोखिम मोलेर काम गर्नुभन्दा स्वरोजगारतर्फ सोच्न श्रमिकलाई आग्रह गरे ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापाले सङ्गठित भएर हक हितका लागि एकजुट हुन आग्रह गरे । उनले विदेशमा गएर घरकै काम गर्दा इज्जत र राम्रो कमाई हुन्छ भने स्वदेशमा श्रमलाई सम्मान गर्ने अवस्था नभएर यस क्षेत्रका श्रमिक जोखिममा परेको बताए ।

मनोरञ्जनका क्षेत्रमा कार्यरत श्रमिकको प्रदेशस्तरीय भेला पनि सम्पन्न भएको छ । यस राष्ट्रिय भेलामा सातै प्रदेशका एक पाँचजना श्रमिकको सहभागिता रहेको थियो ।

भेलाले निरु श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुको राष्ट्रि सञ्जालको गठन गरिएको छ ।
कार्यक्रममा विवेक शर्माले प्रदेशमा खोलिएका मनोरञ्जनका क्षेत्रमा काम गर्ने श्रमिकहरुबीच गरिएको सर्वेक्षणको तथ्याङ्क सार्वजनिक गर्दै ८५ प्रतिसतले यस पेशामा परिने वेचविखनको समस्याबारे अनविज्ञता जनाएको बताए ।
उनले यस क्षेत्रमा नियुक्तिपत्र नदिने, गाली गलौज, धेरै काममा लगाएर थोरै तलबलगायत शारीरिक मानसिक र यौन हिंसालगायतलाई कामकै हिस्साको रुपमा स्वीकारेको र त्यसो हुनु भनेको हिंसामा पर्नु हो भन्नेसम्म जानकारी नभएको बताए ।

त्यसकारण ९८ प्रतिसतलाई काममा जाँदा भएको हिंसाबारे उजुरी गर्ने निकायबारे पनि जानकारी नभएको पाइएको र धेरैजसो साथीको लहलहैमा , सानो उमेरमा भोगेर विवाह गर्दा आर्थिक समस्या परेर, सन्तानको लालनपालन र रहरले समेत यस मनोरञ्जनको क्षेत्रको काममा आउने गरेको पाइएको उनले बताए । विश्वास नेपालमा कार्यकारी निर्देशक बालकुमारी आलेले पेशा मर्यादित र व्यवस्थित नहुँदा यसमा संलग्न श्रमिकमा जोखिममा परेको बताए।

विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले काम सानो वा ठूलो हुन्न, यस क्षेत्रमा काम गर्नेले पनि सम्मानपुर्वक बाँच्न, पेशागत हक, सुरक्षाको लागि संस्थाले काम गर्दै आएको र यस क्षेत्रका श्रमिकलाई सिपमा आधारित काम सिकाउदै आएको बताए ।

प्रतिकृया