प्रहरीका भवन नागरिकका विश्वास र भरोसाका प्रतिक पनि हुन्ः आईजीपी थापा
प्रकाशित मिति
२०७७ फाल्गुन १० गते, सोमबार ०४:४८

काठमाडौं :प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय रामेछापको नवनिर्मित कार्यालय भवन र ब्यारेक भवनको आइतबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नवनिर्मित भवन तथा कार्यालय परिसरको निरीक्षण गर्नुको साथै भवन निर्माण कार्यमा उल्लेखनीय सहयोग पुयाउने ४ जनालाई प्रशंसापत्र समेत प्रदान गरेका हुन् ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नयाँ भवनलाई आम नागरिकको सुरक्षाप्रतिको चाहना, स्थानीय समुदायको सदासयता तथा नागरिकप्रति नेपाल प्रहरीको संयुक्त विम्वको रुपमा स्थापित गर्न सक्नुपर्ने बताए । नयाँ कार्यालय तथा ब्यारेक भवनमा कार्यरत प्रहरी कर्मचारीलाई आम नागरिकका नैसर्गिक हक अधिकारको संरक्षण तथा संवर्धन, शान्ति सुरक्षा र न्यायका लागि अनन्तकालसम्म निष्पक्ष तवरबाट क्रियाशील रहन उत्प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरे ।
भवनको भौतिक संरचना जमिनमाथि उभिएको देखिन्छ तर यसको वास्तविक जग र आधार नागरिकको हृदय र मस्तिष्कमा बस्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, ‘प्रहरीका भवन केवल प्रहरी बस्ने घर मात्रै पनि होइनन् यी भवन आम नागरिकका विश्वास र भरोसाका प्रतिक पनि हुन् ।’ कुनै न कुनै पीडाले मात्र नागरिक प्रहरी कार्यालयमा आउने हुनाले निलो वर्दीले कहिलै पनि दिन र रात, झरि र ठन्डीको वहाना गर्न नपाउँने उनले चर्चा गरे ।
वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्त कुमार लामाले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत र रामेछाप जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल सरकारको नियमित बजेटबाट कूल ७ करोड ५५ लाख ३३ हजार ६ सय ५ रुपैयाँ ५५ पैसाको लागतमा उक्त भवनको निर्माण कार्य सम्पन्न भएको हो । कूल ११,१७० वर्ग फिट क्षेत्रफलमा निर्मित ३ र ३ तले उक्त दुवै भवन फ्रेम स्ट्रक्चरमा निर्माण गरिएको छ । उक्त कार्यालय भवनमा ५ वटा हिरासत कक्ष सहित २२ कोठा र ब्यारेक भवनमा ९ वटा कोठा रहेका छन् ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही, स्थानीय तहका प्रमुखहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा अधिकृतहरु, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय संचारकर्मी, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया