म्यानमार सैन्य कू- प्रदर्शनकारीमाथि प्रहरीले गर्यो बल प्रयोग
प्रकाशित मिति
२०७७ माघ २८ गते, बुधबार ०८:५३

काठमाडौं- म्यानमारमा सैन्य कू को विरोधमा प्रदर्शनमा उत्रिएका नागरिकमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले प्रदर्शनमा सहभागी भएकाहरुमाथी रबरको गोली प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रदर्शनमा सेनाले प्रतिबन्ध लगाएको भए पनि हजारौँ नागरिक त्यसको अवज्ञा गरि प्रदर्शनमा सहभागी भएका छन् । प्रदर्शनकारीमाथि प्रहरीले रबरको गोलीसँग पानीको फोहोरा तथा अश्रु ग्यास पनि प्रहार गरेको छ । प्रहरीको कुटाइबाट प्रदर्शनमा सहभागी एक महिला गम्भीर घाइते भएकी छन् ।
गएको हप्ता निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको सेनाले समूहमा भेला हुन प्रतिबन्ध लगाएको छ भने रातिको समयमा कर्फ्यू लगाएको छ । निर्वाचित सत्ता हत्याएर शक्ति हातमा लिने सैन्य कू नेताले भने आफ्नो कार्यको बचाउको प्रयास गर्दै आएका छन् ।
सैनिक प्रमुख जनरल मिन आङ लाइङले गएको नोभेम्बर ८ मा भएको चुनाव निष्पक्ष नरहेको दाबी गरेका छन् । सो चुनावमा निर्वाचित नेतृ आङ साङ सूकीको पार्टीले बहमुत ल्याएको थियो । सेनाले सत्ता हातमा लिएर एक वर्षका लागि संकटकाल घोषणा गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । एजेन्सी
प्रतिकृया