• १७:२४ २०८० चैत्र १६ गते
  • 5:24 pm

खिम्ती आयोजना स्वामित्व हस्तान्तरण प्रकरणः थपिएको म्याद सिद्धिन लाग्दा पनि अन्योल कायमै

प्रकाशित मिति

२०७७ माघ ६ गते, मंगलवार ०७:१५

1611012723.Clipboard02

काठमाडौं:वैदशिक लगानीमा बनेको ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको स्वामित्व सरकारलाई हस्तान्तरणका लागि थप गरिएको म्याद सकिनै लागे पनि नेपाल विद्युत् प्राधिकरण र प्रवर्द्धक कम्पनी हिमाल पावर बीच ठोस सहमति जुट्न सकेको छैन । निजीक्षेत्रबाट सरकारलाई हस्तान्तरण हुन लागेको यो पहिलो जलविद्युत् आयोजना पनि हो ।

पूर्वनिर्धारित समयमा स्वामित्व हस्तान्तरणको प्रक्रिया नटुंगिएपछि दुवै पक्षबीच अन्तरिम सम्झौता भई आयोजना सञ्चालन भइरहेको छ । अन्तरिम सम्झौताको अवधि माघ मसान्तसम्म रहेको छ । तर, माघ मसान्त नजिकिँदै गर्दा पनि दुवै पक्षबीच स्वामित्व हस्तान्तरणका लागि ठोस सहमति नभएको पाइएको छ ।

नेपाल सरकार र प्रवर्द्धक कम्पनीबीच भएको सम्झौताअनुसार आयोजनाको ५० प्रतिशत शेयर स्वामित्व गत असार २७ गतेदेखि प्राधिकरणमा आउनुपर्ने थियो । तर, निर्धारित मितिमा त्यो काम नभएपछि माघ मसान्तभित्र गर्नेगरी दुवै पक्षबीच अन्तरिम सम्झौता भएको थियो । अन्तरिम सम्झौताको म्याद सकिन लाग्दा पनि स्वामित्व हस्तान्तरणको आवश्यक प्रक्रिया अझैअगाडि बढ्न सकेको छैन ।

पछिल्लो अवस्थाअनुसार थप म्यादमा पनि स्वामित्व हस्तान्तरणको प्रक्रिया नटुंगिने निश्चितजस्तै देखिएको छ । प्राधिकरणका निर्देशक प्रबल अधिकारीले हाल यस विषयमा छलफल भइरहेको बताए । माघभित्र नै यसको प्रक्रिया पूरा असम्भव नै रहेको उनको भनाइ छ ।

हिमाल पावरले सन् २००० जुलाईदेखि सञ्चालनमा ल्याएको यो आयोजना निजीक्षेत्रको लगानीमा निर्माण गरिएको पहिलो जलविद्युत् आयोजना हो । तत्कालीन सरकार र कम्पनीबीच उत्पादन शुरू भएको २० वर्षपछि आयोजनाको ५० प्रतिशत स्वामित्व प्राधिकरणको हुने गरी सम्झौता गरिएको थियो । आयोजनाबाट विद्युत् उत्पादन हुन लागेको गत असार २७ गते नै २० वर्ष पुगेको हो । आर्थिक अभियान दैनिकबाट

प्रतिकृया