• 8:56 am

निषेधाज्ञा खुकुलो भएपछि विदेश जाने भन्दा आउने कामदार धेरै

प्रकाशित मिति

२०७७ आश्विन ५ गते, सोमबार ०४:०१

काठमाडौं, निषेधाज्ञा खुकुलो भएपछि वैदेशिक रोजगारीमा जाने युवा युवती भन्दा नेपालमा रोजगारी गर्न आउने धेरै विदेशी कामदारले नयाँ श्रम स्वीकृति पाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमण विस्तारपछि नेपाल सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञा खुला भएपछिको अवस्थामा वैदेशिक रोजगारीमा जाने १ सय १६ जनाले नयाँ श्रम स्वीकृति पाएका छन् भने विदेशबाट नेपालमा रोजगारी गर्न आउने २ सय २२ जनाले श्रम स्वीकृति पाएका छन् ।

निषेधाज्ञा र लकडाउनपछि अन्य क्षेत्र जस्तै श्रम तथा वैदेशिक रोजगार क्षेत्रले पनि सुस्त गतिमा भएपनि लय समाउन थालेपनि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने कामदारको संख्या अन्यन्तै न्यून देखिएको छ । लकडाउन खुलेपछि ४ सय ११ जना विदेशी कामदारले श्रम स्वीकृति नवीकरण गराएका छन् । मन्त्रालयले एक हप्ताको अवधिमा करिब ६ सय जनाले वैदेशिक रोजगारीको श्रम स्वीकृति लिएको जनाएको छ । त्यसमा पुनः श्रम स्वीकृतिको संख्या ५ सय १२, व्यक्तिगत र संस्थागत गरी नयाँ श्रम स्वीकृति ४७ र वैधनिकरण भई श्रम स्वीकृति लिएका ३८ जना रहेको मन्त्रालयले बताएको छ ।

गत हप्ता ईपीएस मार्फत एक जना पनि दक्षिण कोरिया उडेनन् । गतवर्ष फागुन ३० गतेबाट श्रम स्वीकृति रोकेको सरकारले गत असार १८ गतेबाट पुनः श्रम स्वीकृति र भदौ १४ गतेबाट नयाँ श्रम स्वीकृति खोल्ने निर्णय गरेको थियो । सरकारले नयाँ श्रम स्वीकृति खोलेपछि म्यानपावर व्यवसायीहरुले नयाँ माग ल्याउन थालेका छन् । वैदेशिक रोजगार ठगीका उजुरी पर्नेक्रम पनि सुस्त देखिएको छ । लकडाउनपछि हालसम्म दश वटा उजुरी दर्ता भएको विभागमा गतहप्ता दुई वटामात्र उजुरी परेका छन् । गतहप्ता २ हजार ६ सय ६५ जना कामदारले स्वदेश फर्किन आवेदन दिएका छन् । यसअघि आवेदन दिएकामध्ये ८ हजार ४ सय ३२ जना स्वदेश फर्किएका छन् ।

मन्त्रालयले हालसम्म कोभिडका कारण रोजगारी गुमाई अलपत्र परेकामध्ये १ लाख ३३ हजार ४ सय ८५ जनाले स्वदेश पर्काउन माग गर्दै विभिन्न देशमा रहेका नेपाली नियोगहरुमा अनलाइन निवदेन दिएको भन्दै यस अवधिमा ४८ हजार ८ सय ६५ जना कामदारको उद्धार गरिएको बताएको छ । यो संख्या स्वदेश फर्किनुपर्ने बाध्यात्मक अवस्थामा रहेका कामदारको करिब ३७ प्रतिशत हो । कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर ( सीसीएमसी) ले आइतबारसम्म विदेशबाट ७० हजार ५ सय ९७ जनाको उद्धार भएको जनाएको छ ।

प्रतिकृया