• १५:४९ २०८० चैत्र १५ गते
  • 3:49 pm

सामाजिक सञ्जालमा कवि सुवेदीको पोष्टबाट ‘शुक्रबार कविता’ सङ्ग्रह

प्रकाशित मिति

२०७७ श्रावण १४ गते, बुधबार ०१:२३

kk

प्रत्येक हप्ता शुक्रबार आठ पङ्क्तिका कविता लेखेर सामाजिक सञ्जालमा पोष्ट गर्ने कवि मनोजराज सुवेदीले ३०१ कविताको सङ्ग्रह सार्वजनिक गर्नुभएको छ । आठ पङ्क्तिमा लेखिएको ‘शुक्रबार कविता’ सङ्ग्रह छोटा कवितामा बृहत् सन्देश दिन सफल छ । लामा कविता पढ्न फुर्सद नभएका अहिलेका व्यस्त मानिसका लागि केही समय निकालेर पढ्न सकिने शुक्रबार कविता सङ्ग्रह उपयोगी छ । तीन सय तीन पृष्ठको सङ्ग्रह पठनीय छ ।

सुवेदीले विसं २०७१ जेठ २३ गते शुक्रबारदेखि आठ पङ्क्तिका कविता लेखेर सामाजिक सञ्जालमा पोष्ट गर्न शुरु गर्नुभएको थियो । बैठक कोठामा झुण्ड्याइएको उहाँका पिता पूर्वसचिव पद्मराज सुवेदीको इलाम घुम्दाको तस्वीरले उहाँलाई कविता लेखी सामाजिक सञ्जालमा पोष्ट गर्ने प्रेरणा मिलेको हो । सुवेदी इलामको प्रमुख जिल्ला अधिकारी हुँदा विसं २०३० मा माईपोखरीमा खिचिएको प्राकृतिक सौन्दर्यसहितको मातापिताको तस्वीरले छोरालाई स्थापित कविका रूपमा नेपाली साहित्यमा प्रवेश गराएको छ ।

सरकारी सेवामा रहँदा मातापिता इलाम घुम्दाको तस्वीरले उहाँमा शुक्रबार कविता सङ्ग्रह रचना गर्न सधैँ प्रेरित गथ्र्यो । विसं २०७१ जेठदेखि २०७६ माघ मसान्तसम्म शुक्रबार सामाजिक सञ्जालमा पोष्ट गरिएका ३०१ कविता सङ्ग्रहमा समेटिएका छन् । ललिता सुवेदी दवाडीले प्रकाशन गर्नुभएको ‘शुक्रबार कविता’ सङ्ग्रह को मूल्य रु १९० छ ।

सङ्ग्रहमा समर्पण, मेरो भन्नुजस्ता पृष्ठभूमिका विषय पनि आठ पङ्क्तिका छोटा कवितामा लेखेर आकर्षक बनाइएको छ । शुभ साइतमा साहित्यकार डा सनतकुमार वस्तीले पनि आठ पङ्क्तिको कवितामै सन्देश दिनुभएको छ । कवि वस्तीको आठ पङ्क्तिको कविता सन्देश यस्तो छ–
‘शुक्रबार कविताको
शुभ साइत जुर्ने
सिर्जनालाई एक हप्ता
सधैँ किन कुर्ने रु

छोटा छोटा कवितामा
प्रतिभाको खानी
निरन्तर कायम रहोस्
मनोजको बानी’

कवि सुवेदीले मेरो भन्नु अर्थात् कविको भनाइलाई आठ पङ्क्तिको कवितामा यसरी प्रस्तुत गर्नुभएको छ–

‘पाँच वर्षदेखि शुक्रबार
फेसबुकमा पोष्ट गरेको
शुक्रबार कविता शीर्षकमा
माधुर्य गुणले भरेको ।

प्रेम, प्रकृति र समाजका
हाम्रै सेरोफेरो देखेर
सजाई आठै पङ्क्तिमा
अर्पन्छु कविता लेखेर’

पिता पूर्वसचिव पद्मराज सुवेदीलाई समर्पण गरिएको पुस्तकको मन्तव्य पनि आठ पङ्क्तिकै कवितामा गरिएको छ । समर्पण शीर्षकमा कवि सुवेदी लेख्नुहुन्छ–

‘जवानीको बेला सबैको
जीवन मिठास र रङ्गीन
बूढाबूढी हुँदै गएपछि
बन्छ नमिठो र कठिन ।

दिगो जीवन कसैले पाउँदैन
मनुष्यको क्षणिक चोला
जसरी फर्केर आउँदैन
कलकल बगेको खोला ।’

सङ्ग्रहमा मायाप्रेम, प्राकृतिक सौन्दर्य, सामाजिक विषय, राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना, पूर्वराजा महेन्द्रको सालिक, स्वदेशका दाउन्ने, विराटनगर, इलामलगायत स्थान यात्राको अवसरमा देखिएका विषय, विदेशयात्रा गर्दा देखिएका दृश्य, मौलिक पहिरनलगायत विषयमा आठ पङ्क्तिका कविता रचना गरिएको छ ।

सङ्ग्रहमा ‘योजनाबिनाको शहर’, ‘श्रीदेवीको जादु’, ‘रोमियो र जुलियट’, ‘राम्रो हाम्रो देश’, ‘शिवपुरीको ट्रेकिङ’, ‘नौनीजस्तो दिल’, ‘सरकारी जागिर’, ‘श्रीमतीको गाली’, ‘आमाको गर्भ’, ‘राजधानीको पीडा’, ‘भगवान्को विष’, ‘बालुवाटारको जग्गा’, ‘चौबन्दी चोलो’, ‘विषादी तरकारी’, ‘सडकको जाम’, ‘तराईको दुःख’, ‘सिमलको भुवा’, ‘काठमाडौँ शहर’, ‘शरद ऋतु’, ‘नौबिसेको जाम’, ‘जवानीको मात’, ‘अपार्टमेन्टको बसाइ’, ‘गुलाबको काँडा’, ‘फूलचोकीको हिउँ’, ‘टिपरको आतङ्क’ र ‘ज्ञानको शक्ति’ जस्ता आठ पङ्क्तिका कविताले विशेष सन्देश दिएका छन् ।

कवि सुवेदी ‘तिम्रो यादमा’ शीर्षकको कविता मष्तिष्कबाट उत्पन्न भएको सुनाउनुहुन्छ । कविको मष्तिष्क यसरी कवितामा रूपान्तरित हुन्छ–

‘वर्षा महिना असारमा
सकिँदैन खोला थुन्न
जूनतारा दिएपनि
रहर छैन बयान सुन्न ।

जति नजिक भए पनि
शायद कहिले भेट हुन्न
मलाई छाडी गए पनि
तिम्रो यादमा अब रुन्न ।।’

साप्ताहिकरूपमा शुक्रबार सामाजिक सञ्जालमा कविता पोष्ट गर्नुअघि पनि सुवेदीले कविता रचना गर्नुभएको थियो । राष्ट्रिय योजना आयोगमा कार्यरत छँदादेखि नै कविता लेखेर विभिन्न प्रतियोगितामा पुरस्कार पनि प्राप्त गरेको उहाँ सुनाउनुहुन्छ । कविता लेख्न बसेका बेला बीचमा अड्किएपछि उहाँ हिँडडुल गरी कवितालाई पूर्णता दिने गरेको बताउनुहुन्छ ।

पद्मोदय माध्यमिक विद्यालयमा अध्ययन गर्दादेखि लेखनयात्रा शुरु गर्नुभएका कवि सुवेदीले विद्यार्थी जीवनमा निबन्ध प्रतियोगितामा पहिलो भएर पटकपटक पुरस्कार प्राप्त गर्नुभएको छ । ‘मधुपर्क’ मासिक र गोरखापत्र दैनिकको शनिवासरीय परिशिष्टाङ्कमा कथा, कविता लेखेर नियमित प्रकाशित गर्दै आउनुभएका सुवेदीको यो पहिलो कृति हो ।

सरल भाषामा लेखिएका सुवेदीका कविता सामाजिक सन्देश दिन सफल छन् । प्रत्येक महिनाको अन्तिम शुक्रबार महफिल काव्य उपासनाले आयोजना गर्ने साहित्यिक कार्यक्रममा नियमित सहभागी हुँदासमेत सङ्ग्रह प्रकाशन गर्ने हुटहटी जागेको उहाँ बताउनुहुन्छ । साप्ताहिकरूपमा शुक्रबार सामाजिक सञ्जालमा कविता पोष्ट गर्न थालेपछि कवि सुवेदीलाई पछ्याउने बढेका छन् । कविता मन पराउने र टिप्पणी गर्नेको सङ्ख्या पनि अधिक छ ।

कविता सङ्ग्रह गत वर्ष चैत दोस्रो साता राष्ट्रकवि माधवप्रासद घिमिरेले सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमणका कारण बन्दाबन्दी जारी भएपछि उहाँले टेलिफोनबाट नै शुभकामना सन्देश दिनुभएको थियो । छोटो, मिठो र रोचक शैलीमा कविता रचना गर्न निकै मेहनत गरेको उल्लेख गर्नुहुँदै राष्ट्रकवि घिमिरेले निरन्तरता दिन पनि सुझाव दिनुभएको थियो ।
रासस

प्रतिकृया