हालसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमण हुनेको संख्या ८७ पुग्यो
प्रकाशित मिति
२०७७ असार १२ गते, शुक्रबार ०९:५६
काठमाडौं । काठमाडौं उपत्यकाभित्र हालसम्म कोरोना संक्रमितको संख्या ८७ जना पुगेको छ। शुक्रबार मात्र काठमाडौंका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ८७ पुगेको हो । कोरोना भाइरस संक्रमण हेर्ने प्रहरी प्रधान कार्यालयद्वारा गठित समितिका अनुसार काठमाडौं उपत्यकामा हाल ४७ जना उपचाररत छन्।
हालसम्म काठमाडौंमा ५२ जना, भक्तपुरमा २५ जना र ललितपुरमा १० जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकामा संक्रमण पुष्टी भएकामध्ये ४२ जना महिला र ४५ जना पुरुष छन्। यीमध्ये एक जनाको मृत्यु भएको छ।
बिहीबार ललितपुरमा मृत्यु भएका एक पुरुषको ठेगाना परिक्षण गर्दा उपत्यकाबाहिरको उल्लेख गरेकाले प्रहरीको तथ्यांकमा यसलाई समावेश गरिएको छैन।
हाल उपचारमा रहेकामध्ये २८ जना महिला र १९ जना पुरुष छन्। काठमाडौँका २८, भक्तपुरका १५ र ललितपुरका ४ जना संक्रमितको उपचार भइरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ७ सय ५५ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै ५ सय ९३ जना कोरोना संक्रमित थपिएका छन्।
प्रतिकृया