सांसद सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव सभामुख सापकोटाद्वारा खारेज
प्रकाशित मिति
२०७७ जेष्ठ ३१ गते, शनिबार ०२:५८
काठमाडौं, संविधान संशोधन विधेयकमाथि समाजवादीकी सांसद सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव सभामुख अग्नि सापकोटाले खारेज गर्नु भएको छ । शनिबार दिउँसो १ बजे बसेको प्रतिनिधिसभा बैठकमा सभामुम सापकोटाले सांसद गिरीले दर्ता गराएको संशोधन प्रस्ताव खारेज गर्नुभएको हो ।
प्रतिनिधिसभाको विधेयक शाखाबाट आएको टिप्पणीमा प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र महासचिव भरतराज गौतमको राय हेरेपछि सभामुखले उक्त निर्णय लिनुभएको हो ।
गिरीको संशोधन प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ११२ मा रहेका संशोधनका शर्त विपरीत रहेको टिप्पणी विधेयक शाखाबाट गएको थियो । सांसद गिरीको संशोधन प्रस्ताव नियमावली विपरीत भएकाले सभामुखले खारेज गर्नसक्ने कानूनविद्ले बताउनु भएका थियो । विगतमा पनि यसरी आएका संशोधन प्रस्ताव सभामुखबाट खारेज हुने गरेका विधेयक शाखा प्रमुख उपसचिव नारायणप्रसाद ढकालले बताउनु भयो ।
प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भनेर प्रस्ताव गर्ने उल्लेख छ ।
प्रतिकृया