आज कुवेतबाट थप १५० जना नेपाली नेपाल आउँदै
प्रकाशित मिति
२०७७ जेष्ठ ३० गते, शुक्रबार ०९:०२
काठमाडौं । कुवेतमा अलपत्र परेका नेपालीमध्ये थप १५० जना शुक्रबार नेपाल आउँदैछन् । बिहीबार ५ सय ३१ जना महिलालाई नेपाल ल्याएको सरकारले प्राथमिकताका आधारमा शुक्रबार पुनः १५० जनालाई ल्याउन लागेको हो ।
विदेशबाट आउने नागरिकको व्यवस्थापनमा नेपाली सेना खटिइरहेको छ । एक सैनिक अधिकृतले कुवेतबाट नेपाली लिएर विमान उडिसकेको जानकारी दिएका छन्, उनिहरु ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनु बताएका छन् ।
विमानस्थलबाट साझा यातायातको बसमा राखेर उनीहरुलाई उपत्यकामा तयार गरिएको होल्डिङ सेन्टरमा लगिनेछ । बिहीबार ल्याइएका ५३१ जनामध्ये दुई जना गर्भवती महिला छन् ।
उनीहरुमध्ये सम्बन्धित प्रदेशमा जान नसक्ने ४९ जनालाई छहारी होममा राखिएको छ भने १० जनालाई कोहिनुर होटलमा राखिएको छ । कोहिनुरको व्यवस्थापन स्वरोजगार महिला संघले गरेको हो ।
अन्य सबै महिला सम्बन्धित प्रदेशतर्फ पठाइएका छन् । त्यहाँ उनीहरुले १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ ।
विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई सरकारले २३ जेठबाट उद्दार गर्न सुरु गरेको छ । प्राथिमकताका आधारमा विदेशबाट नेपाली नागरिक ल्याउने गरी सरकारले तयारी गरेको छ ।
प्रतिकृया