• 4:42 pm

नेपालमा कोरोना संकट चुलिन सक्छ सचेत रहनुः डब्ल्यूएच

प्रकाशित मिति

२०७७ जेष्ठ २८ गते, बुधबार १०:२९

 

काठमाडौं । नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रतिनिधि जस भ्यान्डेलरले नेपालमा कोरोना भाइरसको संकट अझै चुलिनसक्ने भन्दै सचेत गराएका छन् ।

नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय प्रमुख भलेरी जुलियान्डसहित बुधबार सञ्चारकर्मीहरुसँगको भिडियो अन्तरक्रियामा उनले नेपालमा कोरोना संक्रमित अझै बढ्न सक्ने बताएका हुन् ।

उनले भने, ‘संकट सकिएको छैन, अझै बढी संक्रमित देखिन सक्छन् ।’ लकडाउनलाई निरन्तरता दिए पनि वा खुकुलो बनाए पनि संक्रमित बढिरहने उनको भनाइ छ ।
उनले कोरोना रोकथामका लागि मास्क लगाउने, हात धुने र सामाजिक दुरी राख्ने कुरा नै महत्वपूर्ण रहेको बताउँदै अब नयाँ तरिकाले बाँच्न सिक्नुपर्ने बताए ।

लामो समय लकडाउन हुँदा अर्थतन्त्रमा समेत प्रभाव पार्ने भएकोले अब स्वास्थ्य सुरक्षा र जनताको आर्थिक सुरक्षा दुवैलाई सँगसँगै लैजान सरकारलाई चुनौती रहेको उनले बताए ।

यो विषम परिस्थितिको सामना नेपालले मात्र नभएर विश्वका अधिकांश मुलुकले भोगिरहेको उनको भनाइ थियो ।

नेपालमा परीक्षण क्षमता र दायरा बढाउन पनि उनले सुझाव दिएका छन् ।

प्रतिकृया