जगाती नाकामा डिस्इन्फेक्सन टनेल संचालन, सवारी साधन निःसङ्क्रमण गरेर मात्रै प्रवेश
प्रकाशित मिति
२०७७ बैशाख २९ गते, सोमबार ०१:३५

भक्तपुर, पूर्वका जिल्लाबाट काभ्रेहुदै राजधानी प्रवेश गर्ने प्रमुख नाकाका रुपमा रहेको भक्तपुरको जगातीमा निजी क्षेत्रको पहलमा सवारी साधन निःसङ्क्रमण गराउने ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ ।
काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर यातायातले अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत सूर्यविनायक नगरपालिका–८ जगातीमा उक्त टनेल सञ्चालनमा ल्याएको हो । काभ्रेबाट भक्तपुरहुदै काठमाडौँ भित्रने सवारी साधनलाई कोरोना भाइरसको जोखिम कम गर्न सरकारको स्वीकृतिमा टनेल निर्माण गरेको हो । अरनिको राजमार्ग, विपि राजमार्ग लगायतपूर्वबाट काभ्रेहुदै आएका चारपाङ्ग्रे सवारी साधनलाई जगाती चेकपोष्टमा राखिएको टनेलमा निःसङ्क्रमण गरेर मात्रै प्रवेश गराउन सुरु गरिएको छ ।
टनेलको संघीय सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उद्घाटन गर्दै कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको प्रयासलाई निजी क्षेत्रले पनि पुर्याउदै आएको सहयोग प्रंशसनीय रहेको बताउनु्भयो । सांसद बस्नेतले भन्नुभयो–“अहिले विश्वमा झण्डै २५० देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ, कोरोनाको संक्रमण रोक्ने भएको प्रयासमा उत्कृष्ठ काम गर्ने मुलुक मध्ये नेपाल ५० औ नम्बरमा पर्छ, सार्क राष्ट्रमा नेपाल कोरोना संक्रमण रोक्न गरेको सफल प्रयासमा पहिलो नम्बरमा पर्छ, अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु नहुन पनि उपलब्धी हो,यो सरकारको प्रयास र सबैको सहयोगले सफल भएको हो ।”
नेपालमा कोरोना भाइरसको परीक्षण गर्ने किटको अभाव भएको हल्ला चलाईएपनि त्यस्तो अभाव नभएको दाबी गर्दै उहाँले सरकारले तिब्रगतिमा किट मार्फत कोरोना परीक्षणको कार्य अगाडि बढाएको बताउनुभयो । कोरोनाका कारण भएको लकडाउनमा अलपत्र परेका मजदुरको उद्धारदेखि मजदुर, गरिब, असाह्यलाई निःशुल्क खाना खुवाउने काममा भक्तपुर उदाहरणीय रहेको बताउदै उहाँले भक्तपुरमा विकास निर्माणका कामलाई तिब्रता दिन थालेको बताउनुभयो ।
सांसद बस्नेतले भन्नुभयो–“लकडाउनले देशको डामाडोल बन्दै गएको अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउने कामको सुरुवात सरकारले गरेको छ, कलकारखाना, उद्योग व्यवसायीलाई सुरक्षित तरिकाले संचालन गर्ने, विकास निर्माणका कामलाई सूचारु गर्ने कामलाई थालिएको छ, विस्तारै सबै ठिक हुन्छ ।”
कार्यक्रममा लकडाउनको समयमा खाद्य पदार्थ तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई निःसङ्क्रमण गराएर प्रवेश गराउन टनेल निर्माण गरिएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिनुभयो । स्वास्थ्य सेवा विभागले स्वीकृत गरेको क्लोरिन झोल राख्नका लागि सोही कम्पनीले पाँच हजार लिटर क्षमताका एक र एक हजार लिटर क्षमताका एक गरी कूल छ हजार लिटर क्षमताका ट्याङ्की राखेको छ । हरेकदिन पानी र क्लोरिन झोल मिलाएर सवारी साधनलाई निःसङ्क्रमण गरिने छ ।
अध्यक्ष थापाले औषधिबाहेक टनेल निर्माणका लागि रु.एक लाख ६६ हजार खर्च भएको जानकारी दिनुभयो । कूल २० फिट लम्बाइ र १६ फिट उचाइको टनेलमा दुईतर्फ र माथि रहेको १४ वटा नोजलबाट स्वीच अन गरेलगत्तै आउने क्लोरिन झोलले ९ सेकेण्डमा नै सवारी साधन निःसङ्क्रमण गर्न सकिने उहाँको दाबी छ ।
मानिसको छालामा क्लोरिन झोल पर्न सक्ने भएकाले सिसा नभएका गाडी र दुईपाङ्ग्रे सवारी साधन भने टनेलमा प्रवेश गर्न रोक लगाएको छ । यसप्रकारको टनेल फर्पिङ्ग, बालाजु, नुवाकोट, सीतापाईलालगायत अन्य सात ठाउँमा राख्ने तयारी गरेको थापाले बताउनुभयो ।
नेपाल प्रहरीले टनेलको व्यवस्थापन एवं सञ्चालन गर्नेछ । सवारी साधनलाई मात्रै निःसङ्क्रमण गराउँदा पनि ठूलो राहत महसुस हुने भए पनि भक्तपुर छिर्ने यात्रुलाई भने स्वास्थ्य परीक्षण गरेर जाने व्यबस्था गरिएको महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।
सवारी साधन निःसङ्क्रमण गरेपछि नेपाल प्रहरी, नेपाली सेना र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको टोलीले सवारी साधनबाट मानिस झारेर स्वास्थ्य टोलीसहितको पोष्टमा शरीरको तापक्रम मापन गर्ने, स्वास्थ्य परीक्षणमा समस्या परेकालाई सोही ठाउँमा रहेको अस्थायी आइसोलेसनमा राखेर अस्पताल पठाउने, ऊ कहाँबाट आएको, कहाँ जानेदेखि सम्पूर्ण व्यक्तिगत विवरण लिएर मात्रै पठाउने व्यबस्था गरिएको प्रनाउ जोशीले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, शसस्त्र प्रहरी बल दुवाकोटका प्रमुख विश्वप्रसाद भट्टराई, नेपाली सेनाको टोलीसहितको सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।
प्रतिकृया