त्रिविको २५ प्रतिशतमा मात्र अनलाइन पहुँच
प्रकाशित मिति
२०७७ बैशाख २८ गते, आईतवार ०८:०१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसका कुल विद्यार्थीको सरदर २५ प्रतिशतले मात्र अनलाइन माध्यमबाट कक्षा लिइरहेको पाइएको छ ।
कोरोना भाइरस (कोभिड–१९) विरुद्ध बन्दाबन्दीमा पठनपाठन नियमित बनाउन त्रिविले विद्युतीय माध्यमबाट गरिने कक्षा सञ्चालनसम्बन्धी निर्देशिका हालै जारी गरेको थियो । सो निर्देशिकाअनुसार करिब सात सय सामुदायिक क्याम्पसमध्ये मुस्किलले ४५ वटाले मात्र अनलाइन माध्यमबाट पठनपाठनलाई निरन्तरता दिएका छन् । नेपाल पब्लिक क्याम्पस सङ्घका अध्यक्ष शिवराज सञ्जेलले त्रिविले आफूहरूसँग परामर्श नगरी एकै पटक अनलाइन विधिबाट अध्यापन गर्नुपर्ने व्यवस्था गरेको गुनासो गर्दै भने, “सबैको पहुँचमा इन्टरनेट छ, छैन ? सबैले अनलाइनबाट अध्यापन गर्न सक्छन् वा सक्दैनन् ? ” बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख डा. ताराप्रसाद उपाध्यायले अनलाइनबाट अध्यापन गर्न पाठ्यक्रम पनि सोहीअनुरूपको विकास गर्नुपर्ने भन्दै थपे, “अनलाइनबाट अध्यापन गर्न शैक्षिक सामग्रीको ई–कपी पनि हुनुपर्छ । त्यो विकास गरिएकै छैन ।
कुलेश्वरको जनमैत्री क्याम्पसका प्रमुख भोला ओझाले अनलाइनबाट विद्यार्थीलाई बुझाउन नसकिने भएकाले तत्काल कामचलाउ मात्र भएको बताउँदै अनलाइनबाट अध्यापन विधि प्रभावकारी नभएको चर्चा गरेका छन् । पोखराको जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख विरन्जी गौतमले सामुदायिक क्याम्पसहरू प्रायः ग्रामीण भेगमा भएकाले अनलाइन९मार्फत अध्यापन गर्न प्राविधिक रूपमा कठिन भएको गुनासो गरेका छन् । कैलाली बहुमुखी क्याम्पस धनगढीका प्रमुख डा। पदमराज जोशीले बन्दाबन्दी सकिएपछि पुनः विद्यार्थीलाई अध्यापन गर्नुपर्ने हुन्छ भनेर नयाँ विषय अध्यापन नगर्ने गरिएको बताएका छन् ।
कावासोतीको मध्यबिन्दु बहुमुखी क्याम्पसका प्रमुख मुक्ति पाण्डेले त्रिविले आफू अन्तर्गतका क्याम्पसहरूको सहकार्यमा अध्यापन विधिका विकल्प तय गरिदिनुपर्ने सुझाव दिएका छन् । सूचना प्रविधि विशेषज्ञ पदमराज पन्तले त्रिविको पाठ्यक्रम अनलाइन कक्षामार्फत अध्यापन गर्न मिल्ने खालको नभएको तर्क गरेका छन् । गोरखापत्रबाट साभार
प्रतिकृया