धार्मिक पर्यटकीय क्षेत्र बन्दै गुण्डुमा पाथीभरा मन्दिर
प्रकाशित मिति
२०७७ बैशाख २६ गते, शुक्रबार ०८:५३

सागर गुरागाईं,गुण्डु भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुमा ऐतिहासिक एवं धार्मिक माता पाथीभरा बैष्णोदेवी मन्दिर निर्माण भएको छ । २०७६ असोजको नवरात्रबाट विधिपूर्वक पुजा आराधना सुरु भएको श्रीमद्भागवत तथा गौ संरक्षण केन्द्रका संरक्षक पण्डित अरविन्द शास्त्रीले जानकारी दिनुभयो । वि.सं. २०७६ असार ४ गते संघीय सांसद महेश बस्नेतले शिलान्यास गर्नु भएको उक्त मन्दिरको क्षेक्रफल लगभग ८ रोपनी रहेको छ ।
भक्तपुर जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता भएर प्रत्येक वर्ष साधारण सभा गर्दै आएको समितिले स्थानीय जनप्रतिनिध एवं स्थानीय बासिन्दाको साथ र सहयोगमा मन्दिर परिसरमा भौतिक विकास निर्माण देखि अन्य धार्मिक क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ । जग्गादाता अर्जुन बस्नेतको नेतृत्वमा मन्दिर व्यवस्थापन समितिको ७ सदस्यीय समिति बनेर कार्य गरिरहको छ । मन्दिर परिसरमा ताप्लेजुको माता पाथीभराको जस्तै मुर्ति र पाउ निर्माण गरी नजिकै होम कुण्ड तयार गरिएको छ । सूर्यविनायकचोक, पाण्डुबजार, सल्लाघारी, सृजनानगर, नयाँ ठिमी लगायतका स्थानबाट पीचबाटो हुँदै २ पांग्रेदेखि १० पांग्रे सम्मका सवारी साधानबाट उक्त मन्दिरमा सजिलै पुग्न सकिन्छ गुण्डुको वस्तीको छेउ अनि सार्वजनिक वनको छेउमा बनाइएको उक्त मन्दिरमा दैनिक हजारौं आन्तरिक दर्शनार्थी एवं पर्यटकहरु दर्शन गर्न र बनभोजका लागि पुग्ने गरेका छन् ।
हाल उक्त केन्द्रका संरक्षक पण्डित अरविन्द शास्त्री लगायतका पुजारी एवं सहयोगीहरु बस्ने एक तले भवनको माथिल्लो तला निर्माणाधिन छ । संस्कृत भाषा सिक्न ईच्छुक बटुकहरुलाई उक्त विषयका शिक्षक मार्फत शिक्षण गराइने लक्ष्य रहेको पण्डित शास्त्रीले बताउनु भयो । उक्त स्थानमा पुग्ने सडक तयार भईसकेको र मन्दिर परिसरमा भौतिक संरचना निर्माणको कार्य चलिरहेकोले गुण्डुको पाथीभरा मन्दिर स्थानीय वासिन्दादेखि काठमाडौं उपत्यका अनि काभ्रे जिल्लाको लागि पनि आन्तरिक धार्मिक पर्यटकीय क्षेत्र बन्ने देखिन्छ । गुण्डु क्षेत्रको सडक कालोपत्रे, फराकिलो, फुटपाथ सहितको अनि मार्कि गरिएको छ ।
गुण्डुको पाथीभरा माताको मुर्ति, अग्निकुण्ड लगायतका कुराहरुमा ताप्लेजुङको पाथीभरासँग समानता भएकोले ताप्लेजुङको पाथीभरा पुग्न असमर्थ दर्शनार्थीहरुलाई उक्त स्थान आन्तरिक धार्मिक पर्यटकीय स्थलको रुपमा विकास भैरहेको सूर्यविनायक नगरपालिका वडा न ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले बताउनुभयो ।
नौ जिल्लामा शाखा रहेको उक्त केन्द्रको केन्द्रीय कार्यालय भक्तपुर जिल्लामा रहेको र १७ सदस्यीय केन्द्रीय समिति रहेको उक्त संस्थाका ८ हजार बढि आजीवन सदस्यहरु रहेका पण्डित शास्त्रीले जानकारी दिनुभयो । तपाई हामीपनि आफ्नै गाउँठाउँमा रहेको धार्मिक आस्था र विश्वासको केन्द्र माता पाथीभराको दर्शन गरी मनोकामना पुरा गरौं । साथै नजिकै रहेको सूर्यविनायक जंगल भम्रण गरि स्वच्छ हावा लिँदै मन र आत्मालाई शान्ति प्रदान गरौं ।
प्रतिकृया