• 4:40 pm

फोन ट्यापिङको विषयमा सहमति जुट्यो, दुरुपयोग गरेमा कारबाही हुने

प्रकाशित मिति

२०७६ चैत्र ५ गते, बुधबार ०२:०५

काठमाडौं, राष्ट्रिय अनुसन्धान विभागलाई प्रभावकारी बनाउन फोन ट्यापिङ गर्न दिने सहमति जुटेको छ । विशेष सेवा ऐन मार्फत फोन ट्यापिङ गरेर नागरिकको गोपनीयताको हक हनन गर्न खोजेको भन्दै विरोध जनाउँदै आएको नेपाली कांग्रेसले अब दुरुपयोग नहुने गरी फोन ट्यापिङ गर्न दिने सहमति भएको हो ।

बुधबार बसेको राष्ट्रियसभाको विधान व्यवस्थापन समितिको बैठकमा कांग्रेसले यस विषयमा मध्यमार्गी बाटो अपनाएर फोन ट्यापिङ गर्न दिने कुरामा सहमति जनाएको हो । यद्यपि जुन प्रयोजनका लागि फोन ट्यापिङ गरिएको हो, त्यसको दुरुपयोग गरेमा दण्डनीय हुने छ ।

सरकारले ल्याएको विशेष सेवा ऐनमा अनुसन्धान अधिकारीलाई फोन ट्यापिङ गर्न दिने व्यवस्था छ । व्यक्तिको गोपनियतालाई कारण देखाउँदै फोन ट्यापिङ गर्न दिने कि नदिने भन्ने विषयमा संसदीय समितिमा लामो विवाद भएको थियो ।

फोन ट्यापिङ जुन प्रयोजनका लागि गरिएको हो, सोही प्रयोजनका लागि मात्र प्रयोग हुने र अन्य प्रयोजनमा प्रयोग गरिए दण्डनीय हुने व्यवस्था राखेर फोन ट्यापिङ गर्न दिने सहमति जुटेको हो ।

प्रतिकृया