सूदूर पश्चिममा राष्ट्रपति, पाटन नगरपालिकाले दियो विदा
प्रकाशित मिति
२०७६ फाल्गुन १४ गते, बुधबार ०२:०८
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीका लागि दिइएको बिदाको चर्चा सेलाउन नपाउँदै बैतडीको पाटन नगरपालिकाले राष्ट्रपति विद्यादेवी भण्डारी सवार हुने भएपछि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीवार दिउँसो राष्ट्रपति बैतडीको पाटन नगरपालिका पुग्ने कार्यक्रम छ। सोही अनुसार नगरपालिकाले नागरिक अभिनन्दनका लागि बिदा दिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार राष्ट्र प्रमुख पहिलोपटक नगरमा आउने भएकाले उत्साहका साथ सार्वजनिक बिदा दिइएको छ । राष्ट्रपति भण्डारी आजबाट तीन दिने सुदुरपश्चिम भ्रमणमा रहनुहुनेछ ।
यस्तो छ राष्ट्रपतिको कार्यक्रम
राष्ट्रपति भण्डारीले आज मध्यान्ह धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्नेछिन्। आजै २ बजे शिवनगर खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम पनि छ।
भोलि १५ गते बिहीवार दिउँसो २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा विशेष पूजाआजा र दशरथचन्द नगरपालिकाका तर्फबाट नागरिक अभिनन्दनको कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।
त्यसभन्दा अगाडि १५ गते बिहान दार्चुलाको शैल्यशिखर मालिकार्जुन धाममा पनि राष्ट्रपतिले विशेष पूजाआजा गर्ने कार्यक्रम छ। मालिकार्जुन माध्यमिक विद्यालय मड प्रेमनगरको नवनिर्मित भवनको उद्घाटका साथै नागरिक अभिनन्दनको कार्यक्रम रहेको छ।
यस्तै १६ गते बिहान १० बजे डडेल्धुरास्थित उग्रताराको दर्शन र १ बजे कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। राष्ट्रपति भण्डारी १७ गते काठमाडौँ फर्किने कार्यक्रम छ।
प्रतिकृया