• ४ साउन २०८३, सोमबार
  • १:२६ बिहान

नेकपाको सचिवालय बैठक आज बस्दै

प्रकाशित मिति

२०७६ पुष १८ गते, शुक्रबार ०९:५३

काठमाडौं , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्दैछ। बैठक विहान साढे ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवार चयनका लागि हिजो झण्डै ४ घण्टा चलेको बैठक विना निश्कर्ष सकिएको थियो। बैठकले राष्ट्रिय सभामा कार्यकाल सकिएका कसैलाई पनि दोहोर्याएर उम्मेदवार नबनाउने विषयमा मोटामोटी सहमति गरेको छ।

आज बस्ने बैठकले राष्ट्रिय सभाका उम्मेदवार टुंगो लगाउने बालुवाटार स्रोतले जनाएको छ। पर्सि उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले सकेसम्म आजै उम्मेदवारको अन्तिम टुंगो लगाउने तयारी रहेको छ। ५९ सदस्यीय राष्ट्रिय सभाको फागुनमा रिक्त हुने एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ। सदस्यका बैठकमा सभामुखको उम्मेदवार चयनबारे पनि छलफल हुनेछ। नेकपाभित्र सभामुखको उम्मेदवार टुंगो नलाग्दा प्रतिनिधिसभाको बैठक दुई पटक सूचना टाँसेर स्थगित भइसकेको छ। पूर्वएमाले र पूर्वमाओवादीबीचको अडानका कारण सभामुखको उम्मेदवार टुंगो लाग्न नसकेको हो। पूर्वमाओवादीका तर्फबाट अग्नी सापकोटा र पूर्वएमालेका तर्फबाट पूर्वसभामुख सुवास नेम्वाङको नाममा छलफल अघि बढेको छ।

Kamana Sewa

प्रतिकृया