• 5:02 pm

नुवाकोटमा गेर्खु–चोगते सडकखण्ड सवारी आवतजावत ठप्प

प्रकाशित मिति

२०७६ भाद्र २१ गते, शनिबार ११:५३

 

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० र ११ को गेर्खुमा सडक निर्माण कम्पनीका कारण यातायातका साधन गुड्न सकेका छैनन् ।

यातायातका साधन ठप्प भएसँगै स्थानीय मर्कामा परेका छन । विदुर नगरपालिकाको वडा नं १० फुलबारीदेखि वडा नं ११ को गेर्खु हुँदै सूर्यगढी गाउँपालिकाको वागेश्वरीसम्म जोड्न लागेको गेर्खु–चोगते सडकखण्डको निर्माणका कारण सवारी आवतजावत ठप्प भएको हो ।

वर्षाको समयमा निर्माण कम्पनीले सडक सरसफाई नगर्दा पैदल हिँड्नसमेत समस्या भएको छ ।

सडकको अवस्था दयनीय भएपछि स्थानीय सडक निर्माण कम्पनीसँग रुष्ट भएका छन् ।

२०७५ साल असार २२ गते सडक निर्माणका लागि सम्झौता भएपनि निर्माण कम्पनीको लापरवाहीले गाउँमा यातायातको सम्पर्क टुटेको छ ।

सडकको ठेक्का संघीय सांसद बहादुरसिंह लामाको हिमडुङ एण्ड थोकर कन्स्ट्रक्सन प्रालिले पाएको छ ।

ठेक्का पाएका कम्पनीले जगत तामाङ र गणेश लामालाई सव कन्ट्रयाक्टरको रुपमा काम गर्न दिएको छ ।

सडकको विषयमा निर्माण कम्पनीलाई बारम्बार जानकारी गराउँदा पनि अवरुद्ध सडक मर्मत नगरेको स्थानीयले गुनासो गरेका छन् ।

२४ महिनाको अवधिमा निर्माण सम्पन्न सक्नुपर्ने यो सडकको लागत २६ करोड ४५ लाख २ हजार २ सय ५३ रुपैयाँ ८९ पैसा रहेको छ ।

प्रतिकृया