• 8:56 pm

रुपन्देहीमा ६२ जनामा डेङ्गुको सङ्क्रमण

प्रकाशित मिति

२०७६ भाद्र २० गते, शुक्रबार १२:५०

बुटवल, रुपन्देहीमा ६२ जनामा डेङ्गुुको सङ्क्रमण देखिएको छ । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६२ जनामा डेङ्गुु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल हस्पिटल प्रालि, आम्दा अस्पताल, भीम अस्पताललगायतका अस्पतालमा आएका बिरामीको परिक्षणका क्रममा डेङ्गुुको सङ्क्रमण देखिएको हो । पछिल्लो दुईदिनमा डेङ्गुुका बिरामीको सङ्ख्या बढेको प्रमुख गिरीले बताए ।

जसमध्ये ४२ जना उपचारपछि घर फर्किएका छन् । यो वर्ष भदौ महीनादेखि डेङ्गुुको सङ्क्रमण फैलिएको हो । विगतका वर्षहरुको तुलनामा सङ्क्रमण नफैलिए पनि लामखुट्टेको सङ्ख्या वृद्धि हुने समय अझै बाँकी रहेकाले भदौदेखि मङ्सिरसम्मको अवधिमा डेङ्गुुको सङ्क्रमण फैलिन सक्ने प्रमुख गिरीको भनाइ छ ।

स्थानीय तहहरुले वडास्तरबाटै सचेतामूलक कार्यक्रम सञ्चालन गरी डेङ्गुुको सङ्क्रमण घटाउनुपर्ने उनको भनाइ छ । डेङ्गुुको सङ्क्रमण नियन्त्रण नभए जनस्वास्थ्य कार्यालयमा डेङ्गुु परीक्षण कीट अभाव हुने जनस्वास्थ्य प्रमुख गिरीले बताए

लुम्बिनी प्रादेशिक अस्पतालका शाखा अधिकृत विपीन क्षेत्रीले अस्पतालमा बिरामीको भीड रहे पनि डेङ्गुुका बिरामीलाई प्राथमिकता दिएर उपचार गरिरहेको बताए । प्रदेशका अधिकांश जिल्लामा डेङ्गुुको सङ्क्रमण फैलिए पनि रुपन्देहीमा बढी देखिएको छ तर यसको नियन्त्रणका लागि खासै पहल भएको छैन ।

रुपन्देहीमा २०६७/०६८ मा पहिलोपटक डेङ्गुुको बिरामी फेला परेका थिए र सोही वर्ष चार जनाको मृत्यु भएको थियो । त्यसयता ०७३/०७४ मा दुई जना र ०७४/७५ मा दुई जना गरी चार जनाको मृत्यु भएको थियो । यो आठ वर्षको अवधिमा रुपन्देहीमा करीब एक हजार ५०० मा डेङ्गुुको सङ्क्रमण देखिएको जनस्वास्थ्यको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिकृया