वायु प्रदुषणका कारण हुने मृत्युको सङ्ख्या दोब्बरले वृद्धि
प्रकाशित मिति
२०७६ भाद्र १९ गते, बिहीबार ०८:४१

एजेन्सी । वायु प्रदुषणका कारण हुने असामयिक मृत्युको दर अघिल्लो वर्ष भन्दा दोब्बरले वृद्धि भएको नयाँ रिपोर्टमा दाबी गरिएको छ । यस्तोमा विश्वभर ८८ लाख भन्दा बढी मानिसहरुले वायु प्रदुषणसँग सम्बन्धित कारणले नै ज्यान गुमाउने गरेको पाइएको हो ।
विकसित युरोपेली राष्ट्रहरुमा समेत करिब आठ लाख मानिसको प्रदुषणकै कारण असामयिक मृत्यु भएको चिनियाँ राष्ट्रिय सञ्चार सिजिटिएनले जनाएको छ । वैज्ञानिकहरुले मुटु सम्बन्धी रोगका कारण मृत्यु हुने ४०–८० प्रतिशत मानिसको आर्टरी धुलोधुँवाका कारण अवरुद्ध हुने गरेको पत्ता लगाएका हुन् । यसको अर्थ धुम्रपानबाट भन्दा मानिसहरु प्रदुषणका कारण असामयिक मृत्युको शिकार भइरहेका छन् । यसअघि विश्व स्वास्थ्य संगठनले पनि २०१५ को रिपोर्टपछि प्रदुषण नै अतिरिक्त ७२ लाख मानिसको मृत्युका लागि जिम्मेमार रहेको उल्लेख गरेको थियो ।
युरोपियन हार्ट जर्नलमा प्रकाशित अध्ययन अनुसार दुषित हावाका कारण मुटु सम्बन्धी रोग लाग्ने क्रम धेरै वृद्धि भइसकेको छ । यसैले पनि धुम्रपानबाट बरु बच्न सकिने तर वायुप्रदुषणबाट टाढा रहन नसकिने अनुसन्धानका प्रमुख, प्रोफेसर थोमस बताउँछन् ।
यसअघि अत्यन्तै सुक्ष्म धुलोका कणहरुमा हुने नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड र जमिनको सतहको ओ–जोन का कारण अन्न उत्पादनमा समेत समस्या देखा परिरहेको बताइएको थियो । युरोपमा मात्र वार्षिक ८ लाख मानिसको धुलोधुँवका कारण मृत्यु हुने गरेको छ भने यसले सबैको औसत आयुलाई दुई वर्षले घटाइरहेको बताइएको छ ।
प्रतिकृया